August 5, 2021, Thursday
२०७८ श्रावण २२

मिडियाले सत्य तथ्य बाहिर ल्याउन नसकेको भन्दै युवाहरूको आक्रोश

सुर्खेत – कर्णाली प्रदेश स्थापना दिवसको दिन, प्रदेश प्राप्तिको आन्दोलनका अगुवा प्रचण्ड कुमार पोखरेलले मिडियाले सत्य तथ्य बाहिर ल्याउन नसकेको भन्दै आक्रोश पोखेका छन्। कान्तिपुर दैनिक कर्णाली व्युरो प्रमुख कलेन्द्र सेजुवालले प्रदेश स्थापना दिवसको अवसरमा तयार पारेको रिपोर्ट फेक रहेको भन्दै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले न्युज लिङ्क शेर गर्दै ” यो न्युज फेक छ,आन्दोलनबाट डराएर भागेका भगौडाहरूलाई आन्दोलनको जस दिन र लिन खोज्नु ,इतिहास प्रतिको बेइमानी हो ” लेखेका छन्।

आन्दोलनका नायक कर्णालीका नागरिक रहेको प्रचण्ड पोखरेलले बताएका छन्। कुनै अमुक पात्रलाई अझ त्यसमा पनि आन्दोलन बाट डराएर भागेकाहरूलाई श्रेय दिन खोज्नु इतिहास माथिको धोका हुने उनको तर्क छ।

१३ दिनपछि : नयाँ प्रदेश

संविधानसभा बाट नयाँ संविधान बन्दै गर्दा पाँच वर्षअघि दलहरू प्रदेशको सिमाङ्कन गर्दै थिए । तत्कालीन मध्यपश्चिमका केही जिल्लाहरू सुदूरपश्चिममा गाभिए । त्यसैको विरोधमा अखण्ड मध्यपश्चिमको मागसहित आन्दोलन भयो । त्यही क्रममा २०७२ साउनमा सुर्खेतमा तीन र जुम्लामा एक जना मारिएका थिए ।

सिमाकंनविरुद्धको आन्दोलन दबाउन प्रहरीले चलाएको गोली लागेर सुर्खेतका यामबहादुर बिसी, टिकाराम गौतम र गोपालसिंह रजवारको ज्यान गयो ।जुम्लामा हरिबहादुर कुँवर मारिए ।आन्दोलन चर्कँदै गएपछि तत्कालीन शीर्ष नेतृत्व सुदूरपश्चिममा गाभिएका जिल्ला फिर्ता गरेर नयाँ प्रदेश दिन तयार भएको थियो।

१३ दिनसम्म चलेको त्यही आन्दोलनको बलमा २०७२ भदौ ४ गते सातौँ प्रदेशको रूपमा प्रदेश न ६ प्रदेश घोषणा भयो । नागरिकको सङ्घर्षबाट कर्णाली प्रदेश स्थापना भएको आज (बिहीबार) पाँच वर्ष पुग्यो।