August 6, 2021, Friday
२०७८ श्रावण २२

फरक मुलर

थोमस मुलर कस्ता खेलाडी हुन् त ? उत्तर भन्नुपर्दा, उनी त फरक ब्रह्माण्डबाट आएका अलग्गै अन्तरिक्ष यात्रीजस्तै छन् । बायर्न म्युनिकले बार्सिलोनालाई हराउँदाका एक मुख्य पात्र हुन् मुलर । यी खेलाडी विश्वकपमा जर्मनीले ब्राजिललाई यस्तै ठूलो अन्तरले हराउँदा पनि मुख्य खेलाडी थिए ।

लिस्बन — युरोपेली च्याम्पियन्स लिग फुटबलको त्यो खेलमा थोमस मुलरले पनि दुई गोल गरे । त्यसो भनेको बायर्न म्युनिकले बार्सिलोनाविरुद्ध हात पारेको प्रसिद्ध जित । जहाँ त्यो हारले बार्सिलोनालाई एउटा क्लबको हिसाबमा तहसनहस बनाएको छ । त्यहीं बायर्नले फेरि एकपल्ट सिद्ध गर्‍यो, यो जर्मन बुन्डेसलिगा क्लब युरोपकै ठूला महारथीमध्ये एक हो । युरोपेली च्याम्पियन्स लिगको फाइनल आइतबार हुँदै छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको त्यो खेलमा बायर्न उपाधिको बलियो प्रत्याशी रहेको छ ।

यसको एक कारण अरू केही नभएर यिनै मुलर हुन् । मुलरले बायर्नका लागि १ सय ९९ गोल गरिसकेका छन् । क्लबका लागि उनले पुर्‍याएको योगदान यो गोलको तथ्यांकभन्दा धेरै गुणा बढी छ । यो सिजन उनका लागि कोसेढुंगा साबित हुँदै छ । युरोको तयारीका लागि जर्मन प्रशिक्षक जोचिम लोले चयन गरेका तीन मुख्य खेलाडीमध्ये एक हुन्, उनी । मुलर ३० वर्षका भए । तर यो उमेरमा पनि उनी सकिएका छैनन्, बरु उनको महत्त्व बढ्दै छ ।

उनको खेल बुझ्ने क्षमता बढेको छ अनि परिपक्वता । खासमा यो सिजन उनी जति कुशल खेलाडी देखिएका छन्, त्यति त्यसअगाडि पनि थिएनन् कि ? लगातार चारपल्ट च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित भएपछि बायर्न चोट र पीडा दुवैले तड्पिरहेको थियो । यसपल्ट फाइनल पुगेपछि बायर्नलाई धेरै राहत भएको छ । मुलर पेप ग्वार्डिओलाको पालामा पनि प्रमुख खेलाडी थिए । त्यो त्यही समय हो, जतिबेला बायर्नका लागि सेमिफाइनल हारको बानी लागेको थियो ।

चारपल्ट सेमिफाइनलबाट बाहिरिएको अवसरमध्ये तीन क्षण त ग्वार्डिओलाकै पालामा थियो । सन् २०१४ मा रियल म्याड्रिडविरुद्ध बेहोरेको १–० को ‘अवे’ हारमा मुलरलाई बेन्चमा राखिएको थियो । दोस्रो लेगको खेलमा मुलरले सुरुदेखि खेल्न त पाए तर त्यो खेल बायर्नले ४–० ले नमज्जासँग गुमाएको थियो । सन् २०१५ मा उनले दुवै लेग खेले तर त्यसमा बार्सिलोनाले बायर्नलाई घरमा ३–० ले हरायो पछि समग्रमा ५–३ को जित निकालेको थियो ।

सन् २०१६ को ‘अवे’ खेलमा पनि उनले मौका पाएनन् । एट्लेटिको म्याड्रिडविरुद्धको त्यस खेलमा ग्वार्डिओलाले मुलरको स्थानमा आर्टुरो भिडाल र थिएगो एकान्टरालाई मौका दिए, जाभी अलोन्सोको अगाडि खेलाएर । त्यो खेल बायर्नले १–० ले गुमायो । यसले तय गरेको थियो, जुन खेल बायर्नका लागि सबैभन्दा महत्त्वपूर्ण छ, त्यसमा प्रशिक्षक ग्वार्डिओलाले मुलरमाथि विश्वास गरेनन् । दोस्रो लेगको खेल २० मिनेट छँदा मुलर मैदानमा छिरे र पेनाल्टीमा पनि गोल गर्न चुके ।

यही बेला मुलरले आफ्नो देशका लागि राम्रो खेले । सन् २०१० को विश्वकप त उनका लागि राम्रो रह्यो नै । त्यसका चार वर्षपछि उनी झन् राम्रो भएर निस्के । प्रशिक्षक लोले ‘काउन्टर’ आक्रमण खेलको रणनीति बुनेको थियो । त्यो निर्णायक रूपमा सफल रह्यो । पछिल्लो विश्वकपमा जर्मनीको प्रदर्शन त कसले सम्झन चाहन्छ र ? यही सिजन बायर्न स्वयं पनि धेरै परिवर्तनबाट गुज्रियो, विशेषतः प्रशिक्षकलाई लिएर । नोभेम्बरमा निको कोभाचको स्थानमा आए हान्सी फ्लिक ।

फ्लिक आएपछि बायर्नले फेरि बायर्नकै जस्तो खेल्न थाल्यो र यसको फाइदा सबैभन्दा बढी मुलरलाई भयो । अहिले बायर्न पूर्णतः ‘काउन्टर’ आक्रमणमा टिकेर खेल्दैन । आधुनिक बुन्डेसलिगामा अहिले जस्तो फुटबल चलेको छ । त्यस्तै छ, फ्लिकको पनि । त्यो भनेको, एकपछि अर्को परिवर्तन । बायर्नले अचेल बार्सिलोनाले जस्तो खेल्दैन, पूर्णतः बलमा आफ्नो नियन्त्रण गर्ने उद्देश्यले । यही खेल त हो, मुलरलाई सुहाउने । खासमा उनी सुरक्षित पास खेल्ने र सकेसम्म बढी बल नियन्त्रणमा राख्न खोज्ने खेलाडी नै होइनन् ।

उनी आफैं भन्छन्, ‘म त जोखिम उठाउन चाहने खेलाडी हुँ । म त्यस्तो गोलका लागि नियमित प्रयास गर्ने गर्छु, जुन हेर्दा निकै राम्रो त हुन्छ, तर मैदानमा गरेर देखाउन गाह्रो हुन्छ । यस्तो काम गर्दा भूल त हुन्छ नै । तर यस्तो बेला आफैंले आफैंलाई भन्न सक्नुपर्छ, एउटा अवसर गयो, अब अर्को अवसरका लागि प्रयास गर्नुपर्छ ।’ त्यसको अर्थ मुलर धेरै प्रयास गरिरहन्छन् र त्यसमा धेरै भूल पनि हुने गर्छ । तर मुलर प्रयास गर्न छाड्ने खेलाडी होइनन् । केही समयअगाडि उनले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘म त सपना देख्न रुचाउने खेलाडी हुँ ।’

मुलर अरूको तुलनामा अलिकति दुब्ला पनि देखिन्छन् । उनको शरीर केही लामो देखिन्छ । लाग्छ, मुलर शारीरिक रूपमा त्यति बलिया छैनन् । त्यसैले उनी राम्रा ‘ड्रिब्लर’ पनि होइनन् । उनी सफा ढंगले प्रहार गरेर गोल गर्ने खेलाडी पनि होइनन् । तर उनको खेलको बुझाइ गज्जब छ । उनी ‘स्पेस’ निकाल्न माहिर छन् । नियमित अन्तरमा अवसर सिर्जना गरिरहन्छन् । यही त हो, मुलर फरक खेलाडी हुन् भन्नुका सार ।

– जोनाथन विल्सन

बायर्नका पक्कापक्की उत्पादन

थोमस मुलर भर्खर १० वर्षका थिए, बायर्न म्युनिकमा आबद्ध भइहाले । सन् २००० ताकाको त्यो समय आफ्नो घरबाट अभ्यासका लागि उनी बायर्नको मैदानसम्म पुग्न ५० किलोमिटरको यात्रा गर्थे । बायर्नको युवा खेलाडी परियोजनाबाट उत्पादन भए उनी । त्यसैमा टेकेर पछि व्यावसायिक खेलाडी बने । सन् २००७ मा बायर्न यू–१९ को बुन्डेसलिगामा उपविजेता हुँदा मुलर त्यसका मुख्य खेलाडी थिए ।

सन् २००८ सम्म उनी बायर्नको दोस्रो ‘रिजर्भर्’ टिममा परिहाले । योर्गन क्लिन्सम्यान प्रशिक्षक हुँदा मुलर बायर्नको पहिलो रोजाइका खेलाडी हुन थाले । सन् २००९ को सिजन उनले बायर्नका लागि पूर्णतः डेब्युको अवसर पाए । उनी फरक फरक भूमिकामा खेल्न सक्षम छन्, मिडफिल्डरदेखि फरवार्डसम्म । अथवा आक्रामक मिडफिल्डरदेखि सेकेन्ड स्ट्राइकर ।

उनको खेलको एउटा मुख्य विशेषता हो, जतिबेला उनको खुट्टामा बल हुन्न, त्यतिबेला उनी अझ राम्रा खेलाडी हुने गर्छन् । उनी लगातार खेल स्थितिको अध्ययन गरिरहेका हुन्छन् । त्यसै अनुसार अवसर सिर्जना गरिरहेका हुन्छन् । उनलाई अहिलेको जत्तिको खेलाडी बन्न हुर्काउने–बढाउने प्रशिक्षक भने लुइस भान गाल हुन् । भान गाल बायर्नमा छँदा मुलरले लगभग सबै खेल खेले । लगभग सबथोक जिते पनि । सन् २०१२–०१३ मा बायर्नले लिग, कप र च्याम्पियन्स लिग तीनै उपाधि जितेको थियो । त्यो ‘ट्रेबल’ को गज्जब उपलब्धि थियो । अहिले बायर्न फेरि एकपल्ट त्यस्तै उपलब्धि हात पार्ने संघारमा छ ।