August 6, 2021, Friday
२०७८ श्रावण २२

तरकारी खरिद बिक्रीमा बिलको प्रयोग नहुँदा ठगिन्छन् उपभोक्ता

२०७७ भदौ १३ शनिबार

काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले तरकारी बजारमा बिक्रेताले खरिद बिक्री बिल जारी नगर्दा उपभोक्ता ठगिएको निष्कर्ष निकालेको छ । समितिले अनुगमनका क्रममा खरिद बिक्रीमा बिल जारी नभएकै कारण तरकारीको मूल्यमा मनपरी भएको पाइएको भन्दै यथासिघ्र बिलको प्रयोग गर्न निर्देशन दिएको छ । 

अनुगमनपछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए । ‘अहिलेको मुख्य समस्या भनेको तरकारीको मूल्य निर्धारण हो, उत्पादन र ढुवानीको कारण देखाएर बजारमा भाउ बढेको गुनासो छ,’ उनी भन्छन्, ‘कालीमाटी र बल्खु तरकारी बजार अनुगमन गर्दा खुद्रा बजारमा मूल्य बढ्नुपर्ने कुनै कारण देखिदैन, यसको कारण खरिद विक्री बिल जारी नहुनु नै मुख्य कारण हो ।’ 

उनकाअनुसार अनुगमन समितिले शनिबार बिहान ५ बजे बल्खु तरकारी बजार पुग्दा गोलभेडाको मूल्य प्रतिकिलो ९५ रुपैयाँ थियो । तर, त्यही गोलभेँडाको मुल्य बालाजु क्षेत्रमा प्रति केजी एक सय ५० रुपैयाँ रहेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमिल्सेनाले बताए । ‘बल्खु र बालाजु करीब ६ किलोमिटरको दुरीमा छन् । यति दुरीमै ५५ रुपैयाँ मुल्य फरक हुनुले काठमाडौंको तरकारी बजार र उपभोक्ता ठगीको चित्र देखाउँछ,’ उनले भने । 

०६९ सालमा स्थापना भएको बल्खु कृषि तथा तरकारी बजारमा चार सय २४ चोक तथा खुद्रा तरकारी पसल छन् । बजार व्यवस्थापनका कारण मुल्य नबढोस् भनेर पसल खरिद बिक्री गर्न नपाउनेलगायतका नियम बनाएको बजारका निर्देशक मोहन बस्नेत बताउँछन् । समितिले अनुगमनपछि मूल्य सूची अद्यावधिक गर्ने, ढक तराजु अद्यावधिक गर्ने लगायत बजार सुधारका काम तुरुन्तै गर्न निर्देशन दिएको छ ।