August 5, 2021, Thursday
२०७८ श्रावण २२

एउटा मन्छुने कविता :सर हजुर — पूर्ण ओली


सान, मान उच्च, उच्च रवाफ
सुन्दर आभुषण, सुग्घर साफ
सेवकहरु हजुरका पाउमा पर्ने
सेवित दर्शनार्थ मरिहत्ते गर्ने
धन्य छ तिम्रो जागिर सर
हुन्छौ कि तिमी अजर अमर ?

नमस्कार गर्छु म, मन्टो बटार्छौ
हात दिन खोज्छु, अलि पछि सर्छौ
कटाक्ष गर्छौ, अनि बोली फेर्छौ
चिल्ने सर्पतुल्य नजर्‌ले हेर्छौ
रुखो छ बोली, धाक छ अजवी
कति दिनको हो सर, तिम्रो पदवी ?

शक्ति औ मदले अन्धो त्यो शेखी
वृद्धि हुन गयो कहिले देखि ?
योग्यता, शक्ति, सुविधा, सम्पत्ति
कहाँबाट पायौ, त्यति ठूलो पदवी ?
खुलदुली लाग्यो, अलिकति जानूँ
मै पनि साँच्चै ठूलै मानूँ ।

तिमी जस्तै पदका, छन् कति जना ?
तिनको मस्ति छ, तिम्रै समान ?
क्याम्पस्‌मा थियो तिम्रो, कुन स्थान ?
कल्ले गरिदियो पदस्थापन ?
सुविधा पद त्यो, हो आजिवन ?
बिन्ती छ हजुर, मलाई त भन ।

निच् प्रवृत्तिले आर्जेको शक्ति
दुर्जनहरुको गरी गरी भक्ति
कानूनले नभने’नि ”भ्रष्ट छ”
नियति तिम्रो प्रष्ट छ ।
तथापि ठान्दछौ अरुलाई साना
गर्दैनन् जस्ले स्व्स्फूर्त मान ।

राज्यले दियो जुन अधिकार
जनताको घरदैलोसम्म उतार
तिनै हुन् तिम्रा, शक्तिका स्रोत
अभाव, अज्ञानताले घायलग्रस्त
अहमता त्यागी जनमाझ आऊ
शिष्टताले उनलाई मलहम लाऊ
मधुर बोल सबसित अघिपछिभन्दा
पद-शिष्टता बन्दछ सुनमा सुगन्ध ।

  • २०७०।०३।२३
  • मुसिकोट रुकुम ।
    [यो कविता सिमित घमण्डी नेता तथा जागिरेको सन्दर्भमा मात्र लेखिएको हो । यसले इमान्दार राष्ट्रसेवकको मर्ममा कुनै चोट पुर्‍याएमा म क्षमाप्रार्थी छु ।]