August 5, 2021, Thursday
२०७८ श्रावण २२

गाउँपालिका अध्यक्षले ८० लाख रुपैयाँ अनियमितता गर्न खोजेपछि झडप, ४ जना घाइते !

जुम्लाको कनका सुन्दरी गाउँपालिकामा जनप्रतिनिधिहरुले अनियमितता गरेको भन्दै बिरोध प्रदर्शनमा उत्रिएका स्थानीयहरु ।

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकामा जनप्रतिनिधिहरुकै मिलेमतोमा झन्डै एक करोड रुपैयाँ भ्रष्टाचार भएको खुलासा भएको छ । गाउँपालिकाका अध्यक्ष नरबिर रावत, उपाध्यक्ष उर्मिला खत्री भण्डारी, वडा नम्बर ३ का अध्यक्ष मनबिर बुढा लगाएत विभिन्न ७ वटा वडाका वडाध्यक्षहरुको मिलेमतोमा गाउँपालिकाको भवन खरिद गर्न भन्दै १ करोड ३० लाख रुपैयाँ निकासा गरिएपछि यस्तो खुलासा भएको हो ।

प्रचलित मुल्यभन्दा अस्वभाविक मुल्यमा भवन खरिद गर्न लागेको स्थानीयले थाहा पाएपछि स्थानीयले जनप्रतिनिधिको यस्तो हर्कतको बिरोध गरेका थिए । स्थानीयको बिरोधपछी गाउँपालिकाको नाममा खरिद गरिएको उक्त भवन रजिष्ट्रेसन पास गर्ने प्रक्रिया स्थगन गरिएको छ । कनका सुन्दरी गाउँपालिकाले वडा नम्बर ६ गोठिज्युला स्थित चिने सार्कीको घर भाडामा प्रयोग गर्दै आएको थियो । स्थानीय स्तरमा प्रचलित मूल्य अनुसार २५ लाख रुपैयाँ पर्ने उक्त घर खरिद गर्दा घरधनिलाई १ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेको कागजपत्र मिलाएर बाकी रकम गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले एक आपसमा बाडफाड गरेका थिए । गाउँपालिका अध्यक्ष नरबिर रावतले घरधनी चिने सार्किलाई घरको मूल्य ५० लाख भुक्तानी गरेको देखाएर बाकी रहने ८० लाख रुपैयाँ आफू सहित अन्य जनप्रतिनिधिहरुको बिचमा बाडफाड गरेका हुन ।
अनुमानित मूल्य २५ लाख रुपैयाँ पर्ने भवनको नाममा १ करोड ३० लाख रुपैयाँ निकासा गरि गाउँपालिकाको नाममा रजिस्ट्रेसन पास गर्न लागेको सुइको स्थानीयले पाएपछि सोमबााा ररबिरोध गरेका थिए । स्थानीयले बिरोध गरेपछी गाउँपालिका अध्यक्ष नरबिर रावतले स्थानियमाथी अपशब्द प्रयोग गर्दै गालिगलौज र ढुङ्गामुढा प्रहार गरि आक्रमण समेत गरेका थिए । स्थानियमाथी आक्रमण भएपछि स्थानिय र गाउँपालिका अध्यक्ष नरबिर रावतका मानिसबिच झडप समेत भएको छ । झडपमा परि दुबैतर्फका ४ जना घाइते भएका छन । घाइते हुनेहरुमा मुक्तिप्रसाद उपाध्याय, स्थानीय पत्रकार उपेन्द्र न्यौपाने, प्रकाश खत्री र ६ नम्बर वडाका वडा सदस्य सुनचिरा शाही रहेका छन । घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गरिएको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।