August 5, 2021, Thursday
२०७८ श्रावण २२

रहेनन् बलिउड अभिनेता इरफान खान

एजेन्सी । बलिउड अभिनेता इरफान खानको उपचारको क्रममा बुधबार बिहान निधन भएको छ ।

मुम्बईको कोकिलाबेन अस्पतालमा उनको उपचारको क्रममा निधन भएको ‘द हिन्दुस्तान टाइम्स’ले जनाएको छ ।

इरफानको निधनबारे उनले अभिनय गरेको चलचित्र ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले ट्विट गर्दै पुष्टि गरेका छन् । मंगलबार इरफानलाई अदस्पताल भर्ना गरिएकोबारे उनको परिवारले कुनै जानकारी दिएका थिएनन् । तर, उनका प्रवक्ताले अस्पताल भर्ना गरिएको पुष्टि गरेका थिए ।

गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।

गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । उनी आमाको अन्तिम संस्कारमा समेत जान पाएका थिएनन् । भारतमा कोरोना महामारीका कारण जारी लकडाउनका कारण उनले भिडियो कन्फेरेन्समार्फत आमाको अन्तिममसंस्कारका सहभागी भएका थिए ।

५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत जानकारी दिएका थिए ।