August 5, 2021, Thursday
२०७८ श्रावण २२

एकैदिन १० जनालाई कोरोना संक्रमण, नेपालगञ्जमा मात्रै भेटिए ९ जना

काठमाडौं । नेपालगञ्जमा एकै पटक १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नेपालगञ्जमा गरिएको परिक्षणको क्रममा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । संक्रमितमध्ये ५ पुरुष र ४ महिला रहेका छन् । संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।

यस्तै, पर्साको वीरगञ्जमा पनि एकजना ३६ वर्षीय पुरुषलाई कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई अहिले नारायणी क्षेत्रिय अस्पतालको आइसोलेसनमा राखिएको छ ।

बाँकेका कोरोना संक्रमितलाई नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ ।

यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।